काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रको अवसरमा शुभकमना दिएका छन्। प्रधामन्त्रीले बुधबार शुभकामना दिदै धर्म र संस्कृति अँगाल्ने नेपालीबीच सौहार्दता र राष्ट्रिय एकताको भावना मजबुत पार्ने विश्वास पनि व्यक्त गरे।
शुभकामनामा प्रधानमन्त्री ओलीले रमदानको अवसरमा एक महिनाभर भोक तिर्खा बिर्सेर गरिने भक्तिले आदर्श जीवनयापनको मार्ग देखाएको उल्लेख गरेका छन्। नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ। उनले सन्देशमा भनेका छन, जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षोल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित छ।
‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न अग्रसर छ’, सन्देशमा प्रधानमन्त्रीले उल्लेख गरिएको छ।
सन्देशमा प्रधानमन्त्री ओलीले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्थाअनुरुप मुस्लिम आयोग पनि क्रियाशील रहेको स्मरण गराउदै सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति संविधानमा भएको उल्लेख छ।