काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले तेस्रो ईक्यान कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। ईक्यानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ २५ गतेदेखि प्रतियोगिता शुरु हुने जानकारी दिएको छ।
ईक्यानका अतिरिक्त क्रियाकलाप विभाग तथा तेस्रो फुटसल प्रतियोगिताका संयोजक वासुदेव दहालले २५ गते शुरु हुने फुटसल प्रतियोगिताको उद्घाटन नेपालका राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा पूर्वक्याप्टेन हरि खड्काले गर्ने बताए।
संयोजक दहालका अनुसार फुटसल प्रतियोगितामा ईक्यान आवद्ध खेलाडी सहभागि हुनेछन्। ईक्यान कास्की, चितवन, ललितपुर, पूर्वाञ्चल शाखा तथा रुपन्देही शाखा अन्तर्गत रहेका व्यवसायीका १२ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
पछिल्लो समय लोकप्रिय बन्दै गएको फुटसल प्रतियोगिता आयोजनाले समग्र खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ।
अष्ट्रियाको मिन्ट ईन्टरनेशनल कलेजको प्रस्तुतीमा आयोजना हुने प्रतियोगितामा राईटपाथ क्यारियर काउन्सिलिङ् प्रा.लि. इन एसोसिएसन विथलगायत प्रयोजक रहेका छन्।