काठमाडौँ – राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमाञ्चलले गण्डकी प्रदेशललाई चार विकेटले पराजित गरेको छ।
मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले सुदूरपश्चिमाञ्चलाई ९० रनको सामान्य लक्ष्य दिएको थियो। ९० रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमाञ्चलले २९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
सुदूरपश्चिमाञ्चलको जीतमा आकाश चन्दले अविजित २९ रनको योगदान दिए भने नरेन्द्र साउँदले अविजित २३ तथा लोकेश बामले १५ रन बनाए। बलिङतर्फ गण्डकी प्रदेशका किशोर महत्तोले तीन विकेट लिँदा विपिन खत्रीले दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरको गण्डकी प्रदेश २० दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ८९ रनमा समेटिएको थियो। गण्डकी प्रदेशका लागि राहुल शर्माले सर्वाधिक ४१ रन जोडे भने किशोर महतोले १४ रन तथा आकश थापाले १२ रन जोडे।
गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिएका थिए। त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई दुई विकेट झारे भने नरेन्द्र साउँदले १ विकेट लिए। जीतसँगै समूह ‘ए’ मा रहेको सुदूरपश्चिमले चार खेलबाट तीन अङ्क जोडेर प्रतियोगिता सम्पन्न गर्यो भने पराजित गण्डकी प्रदेश जीतविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
बुधबारदेखि सेमीफाइनलका खेल
प्रधानमन्त्री कपमा बुधबारदेखि सेमीफाइनलका खेल शुरु हुनेछन्। समूह ‘ए’ बाट प्रदेश ३ विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। त्यस्तै, समूह ‘बी’बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लबले उपविजेता बन्दै सेमीफाइनलमा स्थान पक्का गरिसकेका छन्।
बुधबार सेमीफाइनलको पहिलो खेलमा समुह ‘ए’ विजेता प्रदेश–३ र समुह ‘बि’ उपविजेता त्रिभुवन आर्मी क्लबले भिड्नेछन्। बिहिबार हुने दोस्रो सेमीफाइनलमा समुह ‘ए’ उपविजेता एपीएफले समूह ‘बी’को नेपाल पुलिस क्लबको समाना गर्नेछ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्।