काठमाडौँ – संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ)का लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले माग गरेको छ।
सभामुखबाट प्रतिनिधि सभाको आज (मंगलबार)को बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो।
सभामुखबाट समय लिएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ होस् भने। उहाँले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १ सय २५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहँदा तराई मधेसका जनता अचम्ममा परेको भएको बताए।
सांसद साहले भने, “संविधान संशोधनको विषय बारम्बार उठिरहेको छ, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हुँदै आएको छ। मधेशी समुदायका १ सय २५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ, यतिका दिनसम्म किन संविधान संशोधन हुन सकेन?”
“संविधान बनाउनेबाट नै संविधान उल्लङ्घन भइरहेको छ, लोकसेवा आयोगले संविधान र कानूनको उल्लङ्घन गरेर स्थानीय तहका लागि ठूलो सङ्ख्यामा पदपूर्तिको विज्ञापन गरेको छ, त्यसलाई सच्याइनुपर्छ, बजेटको प्रकृति हेर्दा पनि सङ्घीयताविपरीत ढङ्गबाट आएको छ,” उनले भने। (रासस)