बुटवल - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हजारौँको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई कुनै पनि शक्तिले खोस्न नसक्ने बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत गुल्मी सदरमुकाम तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको आमसभामा नेता शर्माले दुई तिहाइको सरकारले पनि लोकतान्त्रिक मूल्य मान्यताविपरीत जाने कुचेष्टा नगर्न चेतावनी दिए ।
नेता शर्माले विप्लव नेतृत्वको नेकपालाई मारकाटको विद्रोह छाडेर शान्तिपूर्ण रूपले मूलधारको राजनीतिमा आउन सुझावसमेत दिए । उनले सरकारलाई पनि निःषेधको राजनीति नगर्न आग्रह गरे । ‘तपाईंहरू पनि कम्युनिष्ट नै हो, विप्लवहरू पनि कम्युनिष्ट नै हो, उनले भने– ‘यसरी जात, थर, गोत्र सबै एउटै भएका विप्लपहरूलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्नुहोस् ।’