वीरगञ्ज - हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलले हिन्दू राष्ट्रका लागि समग्र नेपालमा जनलहर बढ्दै गएको बताएका छन् । हिमाल, पहाड, तराई–मधेशका जिल्लाहरूमा जिल्ला जाने क्रममा हिन्दू राष्ट्रबारे नेपाली जनता आफ्नो पहिचानका निमित पनि उत्साहित रहेको र नेपालीहरूको पहिचान स्थापित गराउन जस्तोसुकै मूल्य चुकाउंन पनि आफूहरू तयार रहेको बताएका छन् । बाराको सदरमुकाम कलैयामा आयोजित छलफलमा उनले त्यस्तो भनाइ राखेका हुन् ।
सो अवसरमा उनले विदेशीको इशारामा नेपाललाई धर्म–निरपेक्ष बनाइयो र आज नेपालमा हिन्दूमाथि मात्र अन्याय, अत्याचार, धर्म संस्कृति मास्ने र जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेकाले यसको विरोधमा जनमत अघि सरेको बताए ।
नेपालको समृद्धि, विकास, पहिचान र एकता स्थापित गराउन एक मात्र विकल्प हिन्दू राष्ट्र नै रहेको उनले दाबी थियो । अगामी ५ वर्षभित्र नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउने लक्ष्यका साथ समान उद्देश्य बोकेका संघ–संस्थासँग समन्व र सहकार्य भइरहेको उनले स्पष्ट पारे । केही समयअघि मधेशी पत्रकार समाज नेपालका पर्सा अध्यक्षसमेत पटेल हिन्दू राष्ट्र घोषणाको वकालतका लागि विगत दुई वर्षदेखि पत्रकारिता छोडेर यो अभियानमा लागेका हुन् ।
छलफलमा जिल्लाका नागरिक समाजका अगुवा, राजनीतिक दलका स्थानीय नेता, प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।