रसुवा - गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ। गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ।
सो पर्वका अवसरमा ५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिसकिएको बताइएको छ।
यस वर्ष गङ्गादशहरा मेला यही जेठ २१ गतेदेखि २९ गतेसम्म चल्ने र दशयोग जोडिएको दिनलाई दशहरा पर्व मानिएकाले गोसाइँकुण्डमा स्नान गर्दा अञ्जानमा भएका सबै पापबाट मोक्ष मिल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए।
उक्त पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा ठाउँठाउँमा स्वास्थ्य शिविर राखिने जानकारी दिए।
काठमाडौँदेखि धुञ्चेसम्म ८ घन्टा मोटरमा र त्यसपछि पैदलयात्रा शुरु हुने धार्मिक पदमार्गमा सुसाउँदै झरेकी त्रिशूली नदी, उकाली भञ्ज्याङ चौतारीे, चन्दनबारी र आधार इलाकामा भेटिने चौरीगाई, विविध वनस्पति र लौरीविनायक टापूबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले भक्तजनलाई मनमोहक बनाउँछ।
समुद्र मन्थन गर्दा निस्केको कालकूट विषपानका कारण छटपटाएका भगवान शङ्करले शीतल स्थानको खोजीमा निलाद्री पर्वत पुगेर त्रिशूलले हानी जल उत्पन्न गराई त्यहीँ जल समाधिमा बरेका थिए। जीवनमा एकपटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहेकाले पनि यही जेठ २१ गते देखि २९ गतेसम्म आयोजना हुने मेलामा ५ हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको समितिका अध्यक्ष डीएमले बताए।
मेला भर्न आउने भक्तजनले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ यहाँ वर्षेनि भक्तजनको भीड लाग्ने गरेको पूरोहित ढकालको भनाइ थियो।
समुद्र सतहदेखि १४ हजार १ सय फिटको उचाइमा अवस्थित यो पवित्र तीर्थस्थल बौद्ध तथा तथा हिन्दू दुवैको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय वेशभूषाले यो पर्वलाई झन् रौनक बढाएको पाइन्छ।
पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पित्रीको सम्झनामा श्राद्ध तथा तर्पण गर्नाले उनीहरू स्वर्गवास हुने मान्यता रहिआएको छ। गोसाइँकुण्ड जान घरबाट निस्केका तर उकालो चढ्न नसक्ने भक्तजनका लागि धुञ्चेबजारभन्दा पूर्व त्रिशूली नदी किनारमा सानो गोसाइँकुण्ड निर्माण गरिएकाले त्यही स्नान गरेर पनि मनोकाक्षा पूरा गर्न सक्छन्। (रासस)