खार्तुम – सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालयबाहिर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा ५ प्रदर्शनकारीको मृत्यु भएको छ।
राजधानीका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रक सहितको टोलीको बाक्लो उपस्थिति रहेको छ। सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरू सैनिक मुख्यालयबाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौँदेखि अवरोध खडा गरेर धर्नामा बसेका छन्।
संयुक्तराज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथि दमन नगर्न सुडानको सेनालाई आग्रह गरेका छन्। यी दुवै मुलुकले नागरिकलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दबाब दिइरहेका छन्। सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेका थिए।
प्रदर्शनकारीको पक्षमा उभिएको सुडानी चिकित्सकको केन्द्रीय कमिटीले सेनाको गोली लागेर ५ प्रदर्शनकारीको ज्यान गएको जनाएको छ। चिकित्सक टोलीले सैनिक कारबाहीबाट अरू धेरै व्यक्ति घाइते भएको जनाएको छ।
प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन्। सुडानी प्रफेसनल एसोसिएसन (एसपीए)ले सेनाले “रक्तपातपूर्ण आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्ण रूपमा असफल तुल्याउन “नागरिक अवज्ञा” गर्न आह्वान गरेको छ।
सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि प्रदर्शन रोकिएका छैनन्। (रासस/एएफपी)