काठमाडौँ - आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन माग गरेको छ। राजापाका सांसद राजकिशोर यादवले आयोगले सार्वजनिक गरेको विज्ञापनलाई संविधानमैत्री बनाउन र गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरेको छ।
सांसद यादवले जनजाति मधेशीहरूलाई उपेक्षा गरेको र जातीय रूपमा असन्तोष पैदा गराउने खालको गतिविधि भइरहेको भन्दै सभामुखलाई ध्यानाकर्षण गराएका छन्। संविधानको मर्म र भावनालाई नबुझ्ने यो कसले सञ्चालन गरेको सरकार हो भन्ने उनको प्रश्न थियो। उनले भने, ‘यो राज्य कसरी चलेको छ ? यो राज्य कसले चलाएको छ ? वास्तवमा यो राज्य चलाउनेहरूले संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेका छन्। यसप्रति सभामुखको ध्यान जाओस्।’
लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गर्दै उनले उक्त कार्यमा सरकारको बदनियत देखिएको दाबीसमेत गरे। उनले भने, ‘जब संविधान सरकारले मान्दैन। जब यो संविधानअनुसार यो सदन परिचालन हुँदैन। जब यो संविधान संवैधानिक निकायमा बस्ने मान्छेले मान्दैन। व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाइन्छ भने त्यहाँ समस्या उब्जिन्छ।’
सांसद यादवले हिजोको आन्दोलन, बलिदानले सिर्जना गरेको संविधानलाई नमान्नुले राष्ट्रलाई दीर्घकालीन रूपमा नोक्सान पुर्याउने काम भइरहेकाले यसलाई बन्द गरी असमझदारीलाई अन्त्य गर्न पनि माग गरे।