काठमाडौँ – प्रतिनिधि सभाको आज (साेमबार)को बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक–शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद बालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आफ्ना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद गरेको बताए। त्यसैगरी सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै गएकोमा चिन्ता व्यक्त गरे।
सांसद दिलेन्द्रप्रसाद बडूले जेठ ११ गते दार्चुलामा घटेको आपराधिक घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए। सांसद देवप्रासद गुरुङले स्वयंसेवकका रूपमा नेपाल आउने विदेशीलाई समान व्यवहार गर्नेसम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिए।
सांसद देवप्रसाद तिमल्सिनाले रौतहट जिल्लामा हुरी, असिना र पानीले कृषिबालीमा क्षति पुग्न गएको उल्लेख गर्दै यसको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे। त्यस्तै सांसद पूर्णकुमारी सुवेदीले बाँके जिल्लाको सुनापुर गाउँपालिकामा विद्युतीकरण सेवा पुर्याउनुपर्ने बताइन्।
सांसद नवराज सिलवालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा गति नियन्त्रण निर्माण र सीसीटीभी क्यामेरा जोड्नुपर्ने धारणा व्यक्त गरे। सांसद प्रमोद शाहले लोकसेवा आयोगको विज्ञापन विधिपूर्वक नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए।
सांसद प्रभुनारायण चौधरी, पार्वती डीसी चौधरी, प्रकाश स्नेही र प्रमिला राईले देशमा हत्या, हिंसा, भ्रष्टाचार, बलात्कार तथा अनियमितता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सरकार संवेदनशील हुनुपर्नेमा जोड दिए। (रासस)