काठमाडौँ – नेपाल खेलकूद पत्रकार मञ्चद्वारा यस वर्ष प्रदान गरिने ‘पल्सर स्पोर्टस अवार्ड’अन्तर्गत ‘पिपल्स च्वाइस’का लागि पाँच खेलाडी मनोनयनमा परेका छन्।
मनोनयनमा पर्ने खेलाडीमा सन्दीप लामिछाने (क्रिकेट), प्रिन्स दाहाल (ब्याडमिण्टन), सावित्रा भण्डारी (फुटबल), रेश्मा भण्डारी (भलिबल) र महेश्वर महर्जन (शारीरिक सुगठन) रहेका छन्।
नेपालले खेलेका सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय योगदान पु¥याएकाले क्रिकेटका सन्दीप मनोनयनमा परेका हुन्। सन्दीपले नपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सविरुद्व प्रभावशाली प्रदर्शन गरेका थिए। उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन्।
यस्तै ब्याडमिण्टनका प्रिन्स युनाइटेड अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजमा यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए। उमेर समूहमा ब्याडमिण्टनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउने उनी पहिलो खेलाडी हुन्।
फुटलबकी सावित्रा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छन्। भारतमा सम्पन्न अन्तर्राष्ट्रिय हिरो गोल्ड कपमा उनले नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन्। महिला साफ च्याम्पियनशिपमा उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
भलिबलकी रेश्मा राष्ट्रियस्तरका विभिन्न भलिबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेबापत छनोटमा परेकी हुन्।
यस्तै शारीरिक सुगठनका महेश्वरले २०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए। उनले थाइल्याण्डको चियाङमाईमा सम्पन्न १०औँ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनशिपमा पुरुष ७५ किलो तौल समूहतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए।
मनोनयनमा परेकामध्ये एक जनालाई एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकूद पत्रकार मञ्चका सदस्यहरुको मत र राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकहरुको मतलाई आधार मानेर छनोट गरिने आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए।
एसएमएस भोटिङको मतभार ५० प्रतिशत, फेसबुक लाइकको २५ तथा खेलकूद पत्रकार मञ्चका सदस्य र विभिन्न खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ। आगामी असार १७ गते मञ्चले योसँगै विभिन्न १० विधामा अवार्ड प्रदान गर्नेछ। (रासस)