काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली ९ दिन लामो युरोप भ्रमणमा जाने भएका छन्। जेठ २५ गतेदेखि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
सो क्रममा प्रधानमन्त्री ओलीले युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ।
यस्तो छ कार्यसूची :
प्रधानमन्त्री ओलीले २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने र जेठ २७ गते बेलायत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

बेलायलमा ओलीले अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्नेछन् भने त्यहाँका समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नेछन्।
बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुने ओलीले त्यहाँ रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्नेछन्।
९ दिन लामो भ्रमण सकेर ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।