बुटवल - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अन्तरघातमुक्त हुनुपर्नेमा जोड दिएका छन् । उनले पार्टी अन्तरघातमुक्त भए नेपालको पहिलो पार्टी नै कांग्रेस रहेको दाबीसमेत गरे ।
नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले प्रजातन्त्रका लागि लड्न पनि पार्टी एक ढिक्का हुनु आवश्यक रहेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाई नयाँ खालको अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको आरोप लगाए । विश्वबाट लोप हुँदै गएको कम्युनिष्ट नेपालमा सफल हुन नसक्ने भन्दै यो सरकार फाल्न आन्दोलन गर्नु परे पनि कांग्रेस तयार रहेको बताए ।
उनले भने, ‘कम्युनिष्ट सरकार फाल्न आन्दोलन आवश्यक हुन सक्छ । बुद्धको भूमिबाट प्रजातन्त्रका लागि तयार हुन आह्वान गर्दछु ।’ पार्टी एक भएमा जस्तोसुकै तागतलाई पनि पराजित गर्न सकिने भन्दै नेता देउवाले रुपन्देहीवासीलाई अर्को आन्दोलनको तयारीमा जुट्न आग्रहसमेत गरे ।