पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन्। पोखरामा शनिबार आयोजित रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा सभामा बोल्दै प्रधानमन्त्री ओलीले छोटो समय मन्त्री हुँदा रवीन्द्र अधिकारीले महत्वपूर्ण कार्य गरेको बताए। उनले भने, ‘छोटो समयमै उहाँले महत्वपूर्ण कार्य गर्नुभयो। वाइडबडी जहाज खरिद प्रकरणमा उहाँको कुनै संलग्नता नै थिएन, उनी निर्दोष थिए।’
‘संलग्न नै नभएकोलाई निर्दोष भन्न पाइँदैन ? उनले प्रश्न गर्दै भने, ‘अदालतले निर्दोष ठहर नगरी प्रधानमन्त्रीले निर्दोष छ भनेर पाइन्छ भनेर भन्लान् तर अदालतले दोषी ठहर नगरी दोषी भन्न पाइने, मनपरी भन्न पाइने अनि निर्दोष भन्न नपाइने ?’ केही पूर्वाग्रही छुद्र ढंगले चल्न खोज्ने संस्था न्यायाधीश बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरे।
प्रधानमन्त्री ओलीले स्व. अधिकारीले थोरै समय मात्र मन्त्री बन्ने मौका पाए पनि सफल मन्त्री बन्न सफल भएको बताए। ‘उहाँले नेकपाको सरकार गठन भएको एक वर्ष मात्र मन्त्री बन्ने मौका पाउनुभयो,’ उनले भने, ‘थोरै समयमा पनि उहाँले धेरै राम्रो काम गर्नुभयो।’
प्रधानमन्त्री ओलीले स्वर्गीय नेता अधिकारीले आफ्नो एकवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जिकिर गर्दै भने, ‘नयाँ मन्त्री हुनुहुन्थ्यो, पर्यटन क्षेत्र बुझ्नुपर्यो, संस्कृति क्षेत्र बुझ्नुपर्यो, कसरी बुझ्नुहुन्छ भन्ने सोच्थेँ तर उहाँले निकै कुशलतापूर्वक काम गर्नुभयो।’
प्रधानमन्त्री ओलीले स्व. अधिकारी मन्त्री भइसकेपछि विभिन्न विमानस्थलका कामहरूसमेत अगाडि बढेको र पर्यटकीय, सांस्कृति तथा नागरिक उड्डययनको क्षेत्रमा समेत सुधार भएको दाबी गरे।
उनले स्थानीय तहको निर्वाचन भए पनि नेपाल सुशासन तथा विकासको नयाँ बाटोमा अगाडि बढिरहेकाले सरकारको विरोध मात्र गर्न नहुने बताए। ‘राम्रा कामहरूको समेत विरोध गर्ने प्रवृत्ति मौलाएको छ,’ उनले भने, ‘आफ्नो स्वार्थलाई पाखा लगाएर सबै दलहरूले विकास निर्माणका कामहरूमा केन्द्रित हुनुपर्छ।’
धेरै समय स्व.अधिकारीका विषयमा नै बोलेका प्रधानमन्त्री ओलीले यो प्रतिष्ठान दुई दिनका लागि मात्र नभएर जीवन्त प्रतिष्ठान हुने विश्वास व्यक्त गरे। योजनाबद्ध ढङ्गबाट काम गर्नसमेत उनले प्रतिष्ठानलाई आग्रह गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई गर्नुपर्ने सहयोगमा आफू प्रतिवद्ध रहेको बताए। उनले भने, ‘प्रतिष्ठानका लागि प्रदेश सरकाका तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रतिबद्ध छौं।’