काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद हरिबोल गजुरेलले प्रचण्ड चाँडै प्रधानमन्त्री बन्ने बताएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको उनले स्पष्ट पारे।
गजुरेलले भने, ‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन्। उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भैसकेको छ।’ उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम् भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ,’ उनले थपे।
नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ। उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए। उनले भने, ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ। मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ।’
त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो। उनले भने, ‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त?’