काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले सांसदहरुलाई छुट्याइएको ६ करोड रुपैयाँ बढाएर १० करोड पुर्याउनुपर्ने बताएका छन्। उनले सरकारले सांसदलाई छुट्याएको ६ करोड बजेट स्वागतयोग्य भएको बताए। उनले भने, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ। यो गर्नुपर्छ। सांसदलाई विकाससँग जोड्नको लागि पनि आवश्यक छ।’
उनले अगाडि भने, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ। उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको बताएका छन्। सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्बको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे।
पूँजीगत खर्च ४५ प्रतिशतभन्दा बढी हुन नसकेकोमा खड्काले गुनासो पोखे। उनले भने, ‘हामीले प्राप्त गरेको मन्त्रालयगत पूँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ। अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ।’
खड्काले सामाजिक सुरक्षाको दायित्व बढी भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए। पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए।