नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृहमन्त्रीको जिम्मेवारी दिएका छन्।
सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत रहेका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रूपमा गृह मन्त्रालयको जिम्मेवारी दिएको अधिकारीले बताएका छन्। गृहमन्त्रीका रूपमा शाहलाई विशेष गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य चुनौतीका रूपमा रहेका छन्।
उनले अर्का प्रभावशाली नेता राजनाथ सिंहको ठाउँमा अहिले जिम्मेवारी पाएका हुन्। प्रधानमन्त्रीका रूपमा मोदीको पहिलो कार्यकालमा सिंह गृहमन्त्री रहेका थिए। नयाँ गृहमन्त्रीको जिम्मेवारी पाएका शाह भारतमा अनुभवी र परिपक्व नेताका रूपमा चिनिन्छन्।
यसअघि सन् २०१४ मा पार्टीले भारी मत ल्याउँदा उनी उत्तर प्रदेशको पार्टी प्रमुख थिए। त्यतिबेला कुल ८० सिटमा भाजपाको गठबन्धनले ७३ सिटमा जित हासिल गरेको थियो। अहिले भने उनी केन्द्रीय निर्वाचन प्रचारप्रसार अभियानको मुख्य नेतृत्वकर्ता थिए। देशभरि अहिले भाजपाले ३ सय ३ सिट जित्नुमा उनको ठूलो भूमिका रहेको मानिन्छ।
भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि अहिले नयाँ सरकार बनेको हो। नयाँ कार्यकालका लागि प्रधानमन्त्री मोदीसहितका मन्त्रीहरूले गत बिहीबार शपथ ग्रहण गरेका थिए। शपथग्रहण समारोहमा स्वदेशीसहित विदेशी विशिष्ट पाहुनाहरूको उल्लेख्य सहभागिता थियो । (रासस/एएनआई)