बुटवल - पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटबाट आमूल परिवर्तन सम्भव नभएको बताएका छन्। भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै उनले विनियोजित बजेटले सामाजिक, आर्थिक, औद्योगिक क्रान्ति तथा रुपान्तरण हुने आभास नै देखिन नसकेको बताए।
अर्थशास्त्रका विज्ञसमेत रहेका डा. भट्टराईले विदेशिन बाध्य लाखौं बेरोजगार युवालाई स्वदेशमै केही गर्ने वातवरण सृजना गर्ने खालको बजेट आउन नसकेको बताए। उनले दुई तिहाईको सरकार संविधानको भावना र मर्मविपरीत चलेको आरोपसमेत उनको थियो।
संघीयताको मर्मविपरीत स्थानीय र प्रदेश सरकारको अधिकार कटौति गरेर पुनः केन्द्रिकृत सत्ता सञ्चालनको अभ्यास शुरू गरेको भन्दै उनले त्यसले देशलाई नोक्सानीतर्फ लैजाने चेतावनी दिए।
डा. भट्टराईले सरकारले संविधान संशोधन नगरे आफ्नो पार्टीले सरकार छाड्ने बताएका छन्। देशमा संघीयताको प्रश्न अझै हल भइनसकेकाले यसको धेरै आलोचना गर्न जरुरी नरहेको उनको तर्क छ। उनले भने ‘नेपालको संघीयता भर्खर जन्मेको बच्चाजस्तै हो। जसरी भर्खर जन्मेको बच्चाले फोहोरमैला गर्छ, त्यसैगरी संघीयताको अभ्यासका क्रममा केही फोहोरी काम भएका छन्। तिनको सरसफाइ र शुद्धीकरण जरुरी छ।’
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकीकरण भई बनेको समाजवादी पार्टी नेपालले भैरहवामा आयोजना गरेको कार्यकता प्रशिक्षणमा उपेन्द्र यादवसहित भैरहवा आएका डा. भट्टराईले स्थानीय सरकार र प्रदेश सरकारले गाडी सुविधा लिए भनेर धेरै आलोचना गर्नु ठीक नभएको बताए।