काठमाडौँ – नेपाली कांग्रेसका नेताहरूले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन्। नेपाली कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज (शनिबार) यहाँ आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा पार्टीलाई बलियो बनाउन वैधानिक ढङ्गले चल्नुपर्ने बताएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य दिलबहादुर घर्तीले पार्टीलाई बलियो बनाउन पार्टी नेतृत्वले विधानको पालना गर्नुपर्ने बताए। “जागरण अभियानले कांग्रेसलाई जनतासम्म लैजान मद्दत पुगेको छ,” उनले भने। नेता घर्तीले सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको आरोप लगाए।
अर्का केन्द्रीय सदस्य कमला पन्तले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीको संरचनालाई पूर्णता दिए मात्र पार्टी बलियो हुने बताए। उनले भने, “भ्रातृ संस्था र शुभेच्छुक संस्थाको अधिवेशन तोकिएको समयमा हुन नसक्दा पार्टी कमजोर हुँदै गएको छ।”
केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र बृहत् एकता आवश्यक रहेको बताए। उहाँले भने, “समृद्धिको नारा बोकेको वर्तमान सरकारले समृद्धिको जग बसाल्न सकेन।”
पार्टीका लमजुङ सभापति भेषबहादुर पौडेलले गाउँगाउँमा रहेका विद्यार्थी, महिला, किसानको भावनालाई समावेश गरेर अगाडि बढेमात्र कांग्रेस लमजुङको सङ्गठन बलियो हुने बताए।
नेता विष्णुप्रसाद धितालले नेता र कार्यकर्ता एकताबद्ध भएर अगाडि बढेमात्र कांग्रेसको सङ्गठन बलियो हुने बताए। सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान कोषाध्यक्ष शिव रिमाल, नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष सुमन बसौला लगायतले कांग्रेसलाई बलियो बनाउन युवामुखी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए।
आठ स्थानीय तहमा संयोजक तोकियो
पार्टीको सङ्गठनलाई बलियो बनाउन लमजुङबाट काठमाडौँ आई बसोबास गर्ने व्यक्तिलाई लमजुङको आठ स्थानीय तहको संयोजक तोकेको छ।
बेँसीसहर नगरपालिकामा शङ्करदेव जोशी, सुन्दरबजार नगरपालिकामा माधवप्रसाद अधिकारी, राइनास नगरपालिकामा आशिस अधिकारी र मध्यनेपाल नगरपालिकामा विजयरञ्जन पौडेललाई संयोजक तोकिएको छ।
यस्तै क्होलासोथर गाउँपालिकामा धनबहादुर गुरुङ, दोर्दी गाउँपालिकामा गजेन्द्र घले, मर्स्याङ्दी गाउँपालिकामा टीका भण्डारी र दूधपोखरी गाउँपालिकामा राजन दवाडीलाई संयोजक तोकिएको हो। (रासस)