पोखरा – अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेकोे आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटबारे पोखराका व्यवसायीहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटलाई नियमित र निरन्तरताको प्रक्रियाको रूपमा व्याख्या गरेका उनीहरुले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।
बजेटमा केही राम्रा पक्ष समेटिएको भन्दै उनीहरुले कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्। पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सञ्जीवबहादुर कोइरालाले पर्यटन क्षेत्रलाई बजेटले केही राहत प्रदान गरे पनि पोखरालाई पर्यटकीय शहर घोषणा गर्ने कुरा बजेटमा नपर्नु दुःखद भएको बताए।
‘संघीय सरकारले नै पर्यटन वर्ष मनाउने योजना अगाडि सारेको अवस्थामा पर्यटकीय पूर्वाधारको निमार्ण र पर्यटकीय शहर घोषणा बजेटमा नसमेटिनु बिडम्वना पूर्ण छ’, उनले भने, ‘पोखरालाई पर्यटकीय शहर घोषणा गरेर पूर्वाधार विकासमा प¥र्याप्त बजटेको व्यवस्था गर्नुपर्दथ्यो।’
सरकारले बजेटमार्फत नेपालमा युवा वैज्ञानिक सम्मेलन गर्ने महत्वपूर्ण कुरा समेटेको उनले बताए। तर, बजेटमा नेकपाको चुनावी घोषणापत्रको गन्ध आएको उनको आरोप छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बजेट यथास्थिति र परम्परागत ढंगले आएको बताए। उनले भने, ‘बजेटको आकार ठूलो छ। तर, कार्यान्वयन हुने अवस्था देखिँदैन। कार्यान्वयन नहुने बजेट जति नै राम्रो भए पनि त्यसको अर्थ रहदैन।’
गतवर्ष सरकारले बजेटमार्फत ल्याएका थुप्रै कार्यक्रमहरु पुरा नगरेको मुल्मीले अरोप लगाए। ‘गतबर्षको बजेट खर्चको अवस्था हेर्दा नाजुक छ’, उनले भने, ‘अहिले ल्याएको बजेटको कार्यान्वयन हुने आधार देखिँदैन। राजश्वको लक्ष्य भेट्ने पनि संभावना छैन।’
गण्डकी प्रदेश भित्रको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको ८ अर्ब रुपैयाँ बजेट र कोरला नाकामा भन्सार स्थापना गर्ने कुरा विगतकै निरन्तरता भएको मुल्मीले बताए। ‘बजेटमा राजश्वको पक्ष पनि अर्थमन्त्रीका लागि चुनौतीपूर्ण देखिन्छ’, उनले भने, ‘चालु आर्थिक वर्षमै राजश्वको लक्ष्य भेट्न गाह्रो भइरहेको अवस्थामा आन्तरिक राजश्वबाट यो पटक ९ खर्ब ८१ अर्ब रुपैयाँ उठाउने कुरा यथार्थपरक हुँदैन।’
बजेटले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढी गम्भीरता प्रदर्शन गरेजस्तो देखिएको उनले बताए। ‘बालबालिकालाई विद्यालय पठाउने र खाजाको व्यवस्था गरेर भए पनि विद्यालय नजानेलाई आकर्षण गर्ने कुरा सकारात्मक छन्’, उनले भने, ‘छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणको गर्ने कुरा सकारात्मक छ।’
पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले सरकारले ल्याएको बजेट पर्यटन क्षेत्रमा कमजोर देखिए पनि समग्रमा राम्रो रहेको प्रतिक्रिया दिए। सामाजिक सुरक्षा, उर्जा, सडक पूर्वाधार र हवाई पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनु सकारात्मक भएको उनी बताउँछन्।
स्थानीय र प्रदेश सरकार रहेका अवस्थामा सांसदलाई छ करोड विकास खर्च बिनियोजन गर्नु उचित नभएको उनले बताए। पोखरा क्षेत्रमा चक्रपथ निर्माण, फेवा तालको संरक्षण, ढल निर्माणलगायतका क्षेत्रमा सरकारले आवश्यक बजेटको व्यवस्था नगरेको आरोप उनले लगाए।