काठमाडौँ – होटल तथा पर्यटन व्यवसायमा चर्चित उच्च एवं सम्भ्रान्त घरानाका व्यवसायी प्रभाकर शमशेर राणाको निधन भएको छ। उनको ८४ वर्षको उमेरमा बिहीबार साँझ अमेरिकामा स्थानीय समय अनुसार ४:३३ बजे निधन भएको पारिवारिक स्रोतले नेपाली पब्लिकलाई जानकारी दिएको छ। नशासम्बन्धी रोगबाट पीडित राणाको विगत एक वर्षदेखि अमेरिकामा उपचार हुँदै आएको थियो।
राणा नेपाली होटल तथा पर्यटन व्यवसायको पहिलो पुस्ताका धरोहर हुन्। उनी नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सोल्टी होटलका संस्थापक अध्यक्ष हुन्। यसबाहेक पनि उनले टाटा मोटर्सको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सलगायतका चर्चित एवं ठूला लगानीका व्यवसाय स्थापना गरेर नेपाललाई व्यवसायिक रूपले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराएका थिए।
राणा सामाजिक सेवासम्बन्धी धेरै संघसंस्थाहरूमा आवद्ध रही समाज सेवाको क्षेत्रमा पनि सक्रिय योगदान पुर्याउँदै आएका थिए। राणा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरूको संस्था पाटाका आजीवन सदस्य र होटल एसोसिएसन अफ नेपालका इमिरेट्सका चेयरम्यान पनि थिए। नेपालको व्यवसायिक क्षेत्रमा उनले पुर्याएको योगदानलाई नेपालले सदा-सदा स्मरण गरिरहने छ।