काठमाडौँ – आज राष्ट्रिय महिला अधिकार दिवस। सरकारले विभिन्न कार्यक्रम गरी मनाउदैछ। महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस एक समाराेहका बीच मनाउँदै छ।
मन्त्रिपरिषदको जेठ ६ को निर्णयअनुसार दिवस मनाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ। देशभरिका गाँउपालिकाका महिला प्रमुख तथा उपप्रमुख ७७ जिल्ला समन्वयन समितिका महिला प्रमुख तथा उपप्रमुख र एक महिला सदस्य दिवसमा सहभागी हुने मन्त्रालयले जनाएको छ।
यस बर्षको राष्ट्रिय महिला दिवसका नारा ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बताईन्।
मन्त्री थापाले दिवससँगै सरकारले यो वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा विभिन्न कार्यक्रम पनि गर्ने निर्णय गरेको बताइन्। अझै पनि समाजमा बोक्सीको आरोपमा कुटपीट, घरेलु हिंसा, बलात्कार, दाइजोजस्ता दुर्व्यवहार कायम रहेकाले यो दिवसले यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री थापाको भनाई थियो।
वि. सं २०६३ सालमा प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव ‘आमा वा बावुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी अहिलेलाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न’ पारित भएको दिनको सम्झनामा सरकारले जेठ १६ गते ‘राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय गरेको हो । महिला अधिकारको प्रयोग कार्यन्वयन अन्तरगत नै अहिले स्थानीय तहका सरकारमा प्रमुख वा उपप्रमुख मध्य एक महिला नेतृत्वले नै सरकार संचालन गरिरहेको छ।