काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली भाेलि बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन्। ओली आफ्नो टोलीसहित भारतको राष्ट्रपति भवनमा आयोजना हुने मोदीलगायतका मन्त्रीको शपथग्रहण कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे हाे ।
ओलीकाे शुक्रबार मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दोस्रो कार्यकाल सम्हाल्न लागेका मोदीको शपथग्रहण कार्यक्रममा ५/६ हजार अतिथिको आगमन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कतिपयले मोदीको शपथमा सहभागी हुन आउने व्यक्तिले बीजेपीको जितको अर्थ राख्ने बताएका छन् भने कतिपयले शपथ कार्यक्रम कम खर्चिलो हुनुपर्ने जिकिर गरेका छन्। भारतीय सञ्चारमाध्यमहरूले पनि धेरै देशका प्रतिनिधिको सहभागिता गरेर खर्चिलो कार्यक्रमभन्दा सामान्य कार्यक्रम गरेर शपथग्रहण गर्नुपर्नेमा जोड दिएका छन्। भारतीय राष्ट्रपति कार्यालयले पनि शपथग्रहणको कार्यक्रम सामान्य हुने जनाएको छ। बिहीबार साँझको ७ बजे भारतीय राष्ट्रपति कार्यालयमा मोदीले दोस्रो कार्यकाल प्रधानमन्त्रीको शपथ लिँदैछन्।
‘हाई प्रोफाइल’ नेताको सहभागिता
मोदीको दोस्रो प्रधानन्त्रित्वकालको शपथ ग्रहणमा बिमस्टेकका सबै नेताहरू आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बिमस्टेकमा आबद्ध देशहरू बंगलादेश, भुटान, म्यानमार, नेपाल र थाइल्याण्डका प्रतिनिधि उक्त कार्यक्रममा सहभागी हुने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपालका प्रधानमन्त्री ओली, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना, म्यानमारका राष्ट्रपति यू वीन म्यीन्ट, भुटानका प्रधानमन्त्री लोते छिरिङले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निश्चित भएको छ।
कार्यक्रममा थाइल्याण्डबाट विशेष प्रतिनिधिको सहभागिता हुने जनाइएको छ। त्यस्तै, मौरिसिअसका प्रधानमन्त्री, काजकिस्तानका राष्ट्रपतिले पनि मोदीको शपथग्रहणमा सहभागिता जनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
पाकिस्तान चिढ्याउने नीति
मोदीको यसपटकको शपथग्रहणमा भारतले पाकिस्तानलाई उपेक्षा गरेको देखिन्छ। भारतीय प्रधानमन्त्रीले चुनाव जितेलगत्तै ट्वीटरमा बधाई दिएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई भने मोदीको शपथग्रहणमा अलग्याउने नीति भारतले लिएको छ।
मोदीको २०१४ को शपथग्रहण कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसहित सार्कका प्रमुखहरूलाई बोलाइएको थियो। त्यतिबेला भारतले मोदीको शपथग्रहण कार्यक्रममा विशेषगरी छिमेकी राष्ट्रका प्रमुखहरूलाई बोलाएको थियो।
अहिले भने भारतले बिमस्टेकका प्रमुखहरूलाई मात्रै बोलाएको देखिन्छ। विषेशगरी छिमेकी देश पाकिस्तानलाई एक्ल्याउने भारतको रणनीति देखिन्छ। सन् २०१४ को मोदीकाे शपथ ग्रहणमा तत्कालीन पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफको सहभागिता थियो। त्यो सहभागिताले दुई देशबीचको सम्बन्ध प्रगाढ बन्ने देखिएको थियो। तर, त्यसपछिका थुप्रै भेटले पनि पाकिस्तान र भारतको सम्बन्ध सुधार हुन सकेन।