काठमाडौँ – पर्वत जलजला–८ स्थायी घर भई हाल चितवन रत्नगर–५ मा बसोबास गर्दै आएका मने दमाईले पर्वतको आफ्नो पुर्खौली जग्गा वडा अध्यक्षले कब्जा गरेको आरोप लगाएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले पर्वतको जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिविकास जिसीले जग्गा कब्जा गरेको आरोप लगाएका हुन्।
जिसीले ९ आना २ पैसा २ दामको जग्गा कब्जा गरेको दमाईले सुनाए।उनले भने, ‘मेरो बुवा–आमा कान नसुन्ने, लाटालाटी हुनुहुन्छ, उहाँहरुलाई झुक्याएर जिसीले सम्पत्ति कब्जा गरेको छ। तर, त्यो जग्गाको जग्गाधनी पुर्जा अहिलेपनि मेरो आमाको नाममा छ।’
दमाईले कब्जा गरेको आफूहरुको जग्गा पटक–पटक फिर्ताको लागि आग्रह गर्दा उल्टै जिसीले शक्तिको दुरुपयोग गरेर धम्क्याउने गरेको पनि आरोप लगाए। उनले थपे, ‘मैले हाम्रो जग्गा फिर्ता गर भनेर बारम्बार आग्रह गर्दापनि उनले यो जग्गा मैले तेरो बुवासँग पैसा दिएर किनेको भन्दै धम्क्याउने गरेको छ। तर, मेरो बुवासँग पैसाको कारोबारे गरेको मलाई थाहा छैन।’
दमाईको बुवा चन्द्रे दमाईको २०५५ सालमै निधन भइसकेको छ भने आमाको अवस्थापनि निकै नाजुक छ। उनी हाल थला परेर ओछ्यान परेकी छिन्। दमाई स्वयम पनि शारिरीक अपाङ छन्। जिसीले २०४४ सालदेखि नै उक्त जग्गा कब्जा गरेको उनको आरोप छ। २०७२ साल जेठ १ गते जिल्ला प्रशासन कार्यालय पर्वतमा उक्त जग्गा विवादबारे दुवै पक्षबीच छलफल भएको र उक्त छलफलमा आफ्नो बुवासँग जग्गा किनेको प्रमाण जिसीले पेश गर्न नसकेको सुनाए।
सरकारले यसबारेमा सत्य, तथ्य छानबिन गरी दोषी जिसीमाथि कारबाही गर्दै आफूहरुलाई न्याय दिनुपर्ने दमाईको माग छ।