काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ११७ रन अन्तरले पराजित गरेको छ।
मुलपानी मैदानमा मंगलबार भएको खेलमा पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २९१ रनको ठूलो योगफल तयार पारेको थियो। आर्मीको लागि राजु रिजालले सर्वाधिक ६६, रोहित पौडेलले ५६ र हरिकृष्ण झाले ५२ रनको योगदान दिए।
त्यस्तै, करन केसीले २८, शाहब आलमले १६ तथा हरिबहादुर चौहानले ११ रन बनाए। कर्णाली प्रदेशको लागि ललित प्याकुरेल एक्लैले ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन्।
२९२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको कर्णाली प्रदेशले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै १७३ रन मात्रै बनाउन सक्यो। उसका लागि सुशान्त थापाले सर्वाधिक ३१, ललित प्याकुरेलले अविजित २८, युनिश बिक्रम सिंहले २० तथा दिवान पुनले २६ रन बनाए।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुशन भारिले ४, करन केसी र शाहब आलमले समान २–२ तथा हरि बहादुर चौहानले १ विकेट लिए।
प्रतियोगितामा आर्मीको यो लगातार तेश्रो जित हो। यस अघि आर्मीले यसअघि प्रदेश–१ र प्रदेश–२ लाई पराजित गरेको थियो। यो जितसँगै आर्मीले प्रतियोगिताको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। आर्मीले अब समुह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।
कर्णाली प्रदेशको भने यो लगातार दोश्रो हार हो। सोमबार कर्णालीले नेपाल पुलिस क्लबसंग पराजित व्यहोरेको थियो।