काठमाडौँ – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेका हो।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १०९ रनको सामान्य लक्ष्य दिएको थियो। उक्त लक्ष्यलाई प्रदेश ३ ले २२ दशमलव २ ओभरमा ३ विकेट गुमाएर भेटायो। प्रदेश ३ को जीतमा आदील खानले अविजित ३८, इशान पाण्डेले अविजित २६ तथा रित गौतमले २० रन बनाए। गण्डकीका किशोर महतोले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदैै १०८ रन बनाउने क्रममा सुमा घिमिरेले ३४ तथा आकाश थापाले २४ रन जोड्नुबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश ३ का कप्तान पारस खड्का र सूर्य तामाङले समान चार चार विकेट लिए भने नन्दनकुमार यादवले २ विकेट हात पारे। यो जीतसँगै प्रदेश ३ समूह ‘ए’ मा शीर्ष स्थानमा उक्लिएको छ। उसले ३ खेलबाट ४ अङ्क जोडेको छ।
प्रदेश ३ नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा खेलिरहेको छ। प्रदेश ३ ले समुह चरणको अन्तिम खेल जेठ २० गते सुदूरपश्चिम प्रदेशसंग खेल्नेछ।
प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिम गरि १० टिम सहभागी छन्। प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन्।