विराटनगर– प्रदेश १ का विभिन्न जिल्लामा यही जेठ १५ गतेबाट प्रदेशस्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ। प्रादेशिक खेलकुदको आयोजना भने प्रदेश १ सामाजिक विकास मन्त्रालय मातहतको युवा तथा खेलकुद महाशाखाले गर्ने भएको हो।
विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरि खेलकुद प्रतियोगिता बारे महाशाखाले जानकारी दिएको छ। महाशाखा प्रमुख राजेन्द्र बुढाथोकीले प्रदेशका विभिन्न जिल्लाहरुमा आउदो १५ गतेबाट कबड्डी, क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, तेक्वान्दो, एथलेटिक्स, कुस्ती, उसु, कराँते र डोरीतान प्रतियोगिता आयोजना गरिने जानकारी दिए।
उनले प्रतियोगिता आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको जानकारी दिदै मिति र स्थान समेत निर्धारण गरेर तालिका समेत प्रकाशन गरिसकिएको बताए।
क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा संखुवासभा, झापा, सुनसरी, गाइघाट, मोरङ र इलामलगायतका जिल्लामा प्रतियोगिताहरु आयोजना हुनेछन्।
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीेले प्रतियोगितामा २ हजार ३ सय ८८ जना खेलाडीले सहभागिता जनाउने बताए। पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जिवन घिमिरेले प्रदेशको खेलकुद क्षेत्रलाई विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
उनले प्रदेश खेलकुद ऐन २०७५ प्रदेश सभाबाट स्वीकृत भइ प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भन्दै त्यसलगत्तै खेलकुद बोर्ड गठन गर्ने बताए।