काठमाडौँ - हिजो आइतबार काठमाडौँको सुकेधारास्थित एक सैलुनमा भएको विष्फोटनमा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। उक्त घटनामा मृत्यु हुने तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बताएको हो।
उक्त सैलुनमा बसेर बम बनाउने क्रममा विस्फोट हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको थियो। पाँच जना घाइते भएको उक्त घटनामा मृत्यु हुने को को थिए भन्ने घटना भएको २४ घन्टासम्म पनि पहिचान खुल्न सकेको थिएन। आज सोमबार तीनै जनाको सनाखत भएको प्रहरीले बताएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी श्यामलाल ज्ञवालीका अनुसार उक्त घटनामा मृत्यु हुनेमा २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दीपेन विक, ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ४०/४५ वर्षका ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।