बुटवल - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका जिल्ला कमिटी सदस्यहरूले आज सोमबार शपथ ग्रहण गरेका छन्। पार्टी एकीकरण भएको १ वर्षपछि बुटवलमा एक कार्यक्रमका बीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले जिल्ला सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन्।
सो अवसरमा महासचिव पौडेलले भावनात्मक र सांगठनिक भएकाले मात्र पार्टीलाई बलियो बनाउने बताए। विश्व साम्राज्यवादले नेपालमा कम्युनिष्ट सिध्याउने खेल खेल्दा पनि नेपालमा कम्युनिष्ट जनमत बढ्दै जानु सकारात्मक र उत्साहजनक विषय भएको उनको भनाइ थियो। कम्युनिष्ट पार्टीलाई बलियो बनाउन हरेक कार्यकर्ता विचार, क्रियाशिलता र इमानदारिताका साथ अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।
त्यसैगरी, नेकपा प्रदेश नम्बर ५ का इन्चार्ज शंकर पोखरेलले जननिर्वाचित सरकारहरूलाई सफल बनाउन सके मात्र नेकपा सफल हुने बताए। प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले पार्टी बलियो बनाउने मूल आधार भावनात्मक एकता भएको बताए। उनले गुट झुण्डभन्दा माथि उठेर पार्टी बलियो बनाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।
पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी निर्माणमा व्यापक छलफल आवश्यक रहेको बताए। उनले पार्टीभित्रका गुट लुकाएर होइन, लोकतान्त्रिक विधिबाट अन्त्य गर्नुपर्ने बताए।