काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले श्रृंखलाबद्ध बम काण्डबारे प्रतिनिधिसभामा जानकारी गराएका छन्। सोमबार बसेको बैठकमा सदनलाई जानकारी गराउँदै गृहमन्त्रीले राजधानीको सुकेधारा, अनामनगर र थानकोटमा भएको विस्फोटमा सर्वसाधारण नमरेको र प्रतिबन्धित गरिएका समूहकै कार्यकर्ताको मृत्यु भएको बताए।
मन्त्री थापाले सर्वसाधारणलाई आतंकित पार्ने गतिविधिलाई सरकारले नियन्त्रण गर्ने र कानुनी दायरामा ल्याउन सरकार लागिपरेको बताएका थिए। विप्लवलाई वार्ताको माध्यमबाट मुलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको भन्दै उनले सरकार सुरक्षाको लागि कडा रुपमा प्रस्तुत भएको बताए ।
यस्तै गृहमन्त्रीले पाँचथर हत्याकाण्डको बारेमा पनि जानकारी गराए। उनले घटनाको बारेमा थप अनुसन्धान भइरहको जानकारी गराए। गृहमन्त्री थापाले उक्त घटनामा १६ जनासँग सोधपुछ गरिएको र ४० भन्दा बढी टेलिफोनको कल डिटेल लिएको जानकारी गराए। गृहमन्त्री थापाले उक्त घटनामा १ जनाको मात्र संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको र उक्त घटनाको थप अनुसन्धान भइरहेको जानकारी गराएका थिए।