नयाँ दिल्ली – भारतीय जनता पार्टीले विजयी प्राप्त गरेपछि नेपाल–भारत सम्बन्धको चर्चा शुरु भएको छ। भाजपाको जितसँगै फेरि नरेन्द्र दामोदर मोदी प्रधानमन्त्री हुने चर्चा छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकाले आगामी दिनमा थप मजबुत हुने स्पष्ट पारे ।
जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दुराष्ट्र जे भए पनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए। उनले भने, ‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो। नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्दैन।’
भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता लालकृष्ण आडवाणीले नेपाल–भारत सम्बन्ध अझ निकट र सुमधुर हुने बताएका छन्।
‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ। हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ’, लालकृष्ण अड्वाणाीले पत्रकार ऋषि धमला सँगकाे कुराकानीमा भने। आडवाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताए। ‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ। नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ’, अड्वाणाीले थपे। पछिल्लो समय नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी थियो।
त्यस्तै, भारतीय जनता पार्टीका प्रभावशाली नेता, पूर्व गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास दिलाए। सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेको सुनाउँदै त्यसको लागि भारत सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको स्पष्ट पारे।
उनले भने, ‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन् धेरै सहयोग गर्छ।’ अहिले नेपाल–भारतबीच कुनै पनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे। यद्धपि सानातिना समस्या भए टेबुलमा बसेर हल गर्ने सिंहले प्रतिबद्धता जनाए।
उनले भने, ‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ। प्रभावकारी बनाउँछ।’