बाँके - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गर्नुपर्ने बताएका छन्।
प्रेस सङ्गठनले आज (शनिबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर मात्र पारित गर्नुपर्नेमा जोड दिएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, “विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पद रूपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्छ।”
विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताउँदै उनी भन्छन्, “प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ,” वरिष्ठ नेता नेपालले भने, “सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका कामकारवाहीमा अझ लोकप्रियता बढ्छ।”
यस्तै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ट पारे। उनले भने, “जनताका बीचमा राम्रो काम गर्नुस्, जनतामा चेनता जगाउनुस् तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस्।” एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै नसक्ने उनले दाबी गरे।
एक अर्को प्रसङ्गमा उनले तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न बजेटका बारेमा विस्तृत छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्नेगरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए। परम्परागत ढङ्गले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने उनको भनाइ थियो। (रासस)