एजेन्सी – चीनमा बेलाबेला अनौठा घटना सार्वजनिक हुन्छन्। चीनको पूर्वी क्षेत्रमा एकजना ‘लिउ’ थर भएका चालकले अनुहार कोतरेको भन्दै कारवाही भोगेका छन्। ‘आर्टिफिसियल इन्टिलिजेन्स’को सहयोगमा ट्राफिक क्यामेराबाट उनले गाडी चलाइरहेको बेला अनुहार कोतर्न हात लगेको फोटो खिचिएपछि उनी कारवाहीमा परेका हुन्।
गएको सोमबार साङदोङ प्रान्तको जीनान भन्ने ठाउँमा गाडी चलाइरहेका उनले अनुहार कोतर्न हात माथि उठाएको बेला आर्टिफिसियल इन्टिलिजेन्सले ट्राफिक क्यामेराको सहायतामा तस्बिर लिएको थियो। उनलाई गाडी चलाइरहेको बेला ‘फोनमा कुराकानी गरिरहेको’ भन्ने आरोप लागेको छ। उनलाई लाइसेन्समा दुईवटा प्वाल बनाइदिने र ५० यान जरिवाना तिर्न लगाउने कारवाही गरिएको जानकारी दिइएको छ। ‘मैले अनलाइनमा मान्छेहरुले गाडी चलाउँदा अरुका खुट्टा छोएकाले कारवाही भोगेको देखेको थिए’, उनले भने, ‘यो बिहानी, आफ्नै अनुहार छुँदा कारवाही भोगेँ।’
उनले आफूलाई ट्राफिक नियम उलङ्घन गर्दा पठाएको तस्बिर साभार गर्दै आफू आफ्नो अवस्थाबारे जानकारी दिन अधिकारीहरुकोमा गए पनि कसैले सहयोग नगरेको बताए। ग्लोबल टाइम न्युजपेपरका अनुसार त्यस शहरका ट्राफिक अधिकारीहरुले उनको अवस्थाको पुनःविचारको पत्र रद्द गरिदिएका छन्। उल्टै चालकलाई अधिकारीहरुले चालकको आशय बुझेर तस्बिर खिचिइने स्वस्फुर्त प्रणाली जडान गरिएको र त्यसअन्तर्गन कारवाही हुने बताए।
उनलाई अधिकारहिरुले गाडी चलाउँदा अनुहारमा हात लैजानु गल्ती भएको जानकारी दिए। उनले फोनमा कुराकानी गरिहेको जस्तो देखिएकाले क्यामेराले तस्बिर लिएको हुनसक्ने उनको आशंका थियो। उनले आफूले त्यसो नगरेको अनुरोधसहित अधिकारीहरुसँग गुहार मागेका थिए। तर अधिकारीहरुले ट्राफिक क्षेत्रको नियमन स्वतस्फुर्त रुपमा हुने भन्दै उनको गल्ती रहेको र उनले कारवाही भोग्नुपर्ने बताए।
कतिपयले चीनमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’का कारण व्यक्तिको गोपनियता हनन् भएको भन्दै बिरोध पनि जनाएका छन्। ट्राफिक नियम अनुगमनका लागि चीनमा १७० मिलियनभन्दा बढी क्यामेराहरु जडान गरिएको छ। सरकारले सन् २०२० सम्म ४०० मिलियन क्यामेरा थप गर्ने जनाएको छ।