काठमाडौँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट शुक्रबारदेखि काठमाडौँमा शुरु भएको छ। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। जसमा समूह ‘ए’ मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन्। समूह ‘बी’ मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा खेल हेर्न पुग्ने दर्शकले छक्का हानेको बल १ हातले समाते ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।
प्रतियोगितामा आर्मीका लागि तीव्र गतिका बलर सोमपाल कामी भने बिमारी भएका कारण प्रतियोगितामा सहभागिता जनाएका छैनन्।
आर्मीको विजयी शुरुवात
प्रतियोगितामा त्रिभुवन आर्मीले विजयी शुरुवात गरेको छ। प्रदेश २ लाई १ सय ७१ रनले हराउदै आर्मीले प्रतियोगितामा विजयी शुरुआत गरेको हो।
टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २७८ रनको लक्ष्य दिएको थियो। आर्मीका लागि राजु रिजालले ९०, कप्तान बिनोद भण्डारीले ६६, रोहित पौडेलले ४७ तथा हरि चौहानले २६ रन बनाए। आर्मीका रिजाल र बिनोदले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरेका थिए।
प्रदेश २ का हरिशंकर शाहले ३ विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन्।
२७८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ३१ दशमलव ४ ओभरमा १०७ रनमा समेटियो। प्रदेश २ का लागि ओपनर हरिशंकर शाहले २१, सम्साद शेखले १६, सुधार चौधरीले १५ तथा राशिद खानले १४ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन्।
प्रदेश २ लाई सस्तैमा समेट्ने क्रममा आर्मीका शाहब आलमले ४, सुशन भारिले ३, जिनेत्द्र मुखियाले २ तथा कुशल मल्लले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच राजु रिजाल भए।
प्रतियोगिताको दोस्रो दिन पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्नेछन्।
तस्बिर : रासस