धनगढी – धनगढीमा बिहीबारदेखि आयोजना हुने ‘आरवीए नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ।
सार्क राष्ट्रका देशहरुका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक राष्ट्रिय गोजुरियो कराते दो संघले बुधबार पत्रकार सम्म्मेलन गर्दै जानकारी दिएको छ।
प्रतियोगितामा सहभागिताका लागी नेपालसँगै भारत, बंगलादेश, भुटान, माल्दिभ्स, अफगानस्तान लगायत देशहरुका खेलाडीहरु एवम् प्रशिक्षकहरु धनगढी पुगिसकेको संयोजक प्रकाश चन्दले बताए।
प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए। प्रतियोगितामा प्रथम हुुने टिमले ७५ हजार पुरस्कार पाउने छ भने दोस्रो हुने टिमले ५० हजार पुरस्कार पाउने छ। त्यस्तै टिम कुमुतेमा विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिने छ।
प्रतियोगिताको बिहीबार धनगढीस्थित क्षेत्रिय रंगशालामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले उद्घाटन गर्नेछन्। प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रवादी विकासशील अभियान रहेको छ भने प्रायोजकमा शुभश्री प्यालेस धनगढी रहेको छ।