धनगढी – नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको उपाधि एसटीएस टेलिभिजनले जितेको छ। बुधवार फाइनल खेलमा पश्चिम टुडेलाई १४–४ ले पराजित गर्दै एसटीएस टेलिभिजनले उपाधि जितेको हो।
एसटीएसका लागि शंकर बोहराले ७, सागर शाहले ५ र जितेन्द्र रावलले २ गोल गरे। पश्चिम टुडेका लागि दीपक उपाध्याय र रोशन चौधरीले समान २-२ गोल गरे पनि जित दिलाउन सकेनन्। उपाधिसंगै एसटीएसले नगद १५ हजारसंगै ट्रफी र प्रमाणपत्र हात पारेको छ भने पश्चिम टुडेले नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिम टुडेका दीपक उपाध्याय, उत्कृष्ट गोलकिपर पश्चिम टुडेकै आभाष उपाध्याय र सर्वाधिक गोलकर्ता एसटीएसका सागर शाह भए। प्रतियोगितामा फेयर प्ले अवार्ड भने दिनेश एफएमले जितेको छ।
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा भएको प्रतियोगितामा योगदान पुर्याएको भन्दै पत्रकार दीपक उपाध्यायलाई सम्मानसमेत गरिएको छ।