काठमाडौँ – एक महिनासम्म भएको लोकसभा निर्वाचनमा भारतीय राजनीतिक दलले गुगल र फेसबुकमा मात्रै ५३ करोड भारुभन्दा बढी रकम खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ। आइतबार मात्र सम्पन्न भएको निर्वाचनको परिणाम बाहिर आइसकेको छैन। तर भारतीय राजनीतिक दलले निर्वाचनमा गरेको खर्चको विवरण भने आउन थालेको छ।
चुनावको प्रचारका लागि राजनीतिक दलहरुले फेब्रुअरीदेखि अहिलेसम्म फेसबुक र गुगल आदि डिजिटल मञ्चमा ५३ करोड भारुभन्दा बढी खर्च गरेको फेसबुक र गुगलले सर्वाजनिक गरेको तथ्यांकले देखाउँछ। जसमा सबैभन्दा बढी खर्च गर्नेमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नै अगाडि देखिन्छ।
फेसबुकले जारी गरेको रिपोर्ट अनुसार यही फेब्रुअरीको शुरुवातबाट मे १५ सम्म फेसबुकमा १.२१ लाख राजनीतिक विज्ञापनको प्रसारण भएको जनाएको छ। उक्त विज्ञापनबाट फेसबुकले २६.५ करोड कमाएका छन्। त्यस्तै गूगलको प्लेट फर्ममा भारतीय राजनीतिक दलले १७ करोड भारुभन्दा बढी खर्च गरेको देखिन्छ। यस्तै गुगल, युट्युव र उसका अन्य सहायक कम्पनीमाथि १९ फेब्रुअरीदेखि हालसम्म १४,८३७ विज्ञापन गरेको र त्यसबाट २७.३६ करोड भारु आर्जन गरेको जनाएको छ।
यसमा सबैभन्दा धेरै भाजपाले फेसबुकमा २ हजार ५ सय भन्दा बढी विज्ञापन गरेर ४.२३ करोड भारु खर्च गरेको देखिन्छ। उसले ‘माइ फस्ट भोट फर मोदी’, ‘नेशन विद नमो’ जस्ता पेजमार्फत समाजिक संजालमा मात्रै चार करोडभन्दा बढी खर्च गरेका छन्।
यस्तै अर्का दल कंग्रेसले फेसबुकमा ३ हजार ६ सय ८६ विज्ञापन गरेर १.४६ करोड भारु खर्च गरेको छ भने गुगलमा ४ सय २५ विज्ञापन राखेर २.७१ करोड भारु खर्च गरेको छ। फेसबुकको तथ्याकंमा अन्य पार्टीले गरेका खर्च विवरण पनि उल्लेख गरिएको छ। फेसबुकको तथ्यांक अनुसार तृणमुल कांग्रेसले उसको फेसबुक प्ल्याटफर्म मार्फत २९.२८ लाख भारु खर्च गरेको देखाएको छ।
यस्तै डिजिटल विज्ञापनमा आम आदमी पार्टीले पनि ठूलो मात्रमा चुनावी प्रचार गरेको विवरण सार्वजनिक भएको छ। उसले फेसबुकमा १,७६ विज्ञापन राखेर १३.६२ लाख भारु खर्च गरेको देखिन्छ।
गूगलका अनुसार उसको ‘अर्बन डिजिटल सोल्युसन्स’ प्लेटफर्ममा आम आदमी पार्र्टीको विज्ञापन प्रचार गरेको थियो। मे १९ मा पार्र्टीले यसको लागि २.१८ करोड भारु भुक्तान गरी चुनावी प्रचार गरिएको थियो।
गुगल र फेसबुकजस्ता डिजिटल प्ल्याटफर्मले भारतमा चुनाव अघि पारदर्शिता ल्याउनको लागि तिनको समाजिक सञ्जालमा राजनीतिक विज्ञापनको विवरण प्रस्तुत गरिएको हो ।