विराटनगर - भोजपुरमा प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच आज मंगलबार दिउँसो करिब पौने १ बजे भिडन्त भएको छ। भोजपुरको ट्याम्के मैयुम गाउँपालिकामा भएको उक्त भिडन्तमा एक जना विप्लव कार्यकर्ता घाइते भएका छन्।
सो गाउँपालिकाको मैयुमडाँडा मुनिको धोद्लेखानी जंगलमा हतियारधारी समूहहरू रहेको र हतियारसहित हिँडडुल गरी स्थानीयलाई त्रसित बनाएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा हतियारसहित सो स्थानमा बसेका करिब १५ जनाको समूहलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा अन्य फरार भए पनि एक जनाले हतियार निकाली प्रहरी टोलीलाई फायरिङ गर्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो।
जवाफी फायरिङमा प्रहरीमाथि आक्रमण गर्न खोज्ने भोजपुर षडानन्द नगरपालिका–२ का ३२ वर्षीय तीर्थराज घिमिरेको बायाँ खुट्टामा गोली लागि घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीको नियन्त्रणमा रहेका घिमिरेको साथबाट १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली ५ थान, लामो बाइनाकुलर १ थान, डेटोनेटर ४ थान, २० मिटर डेटोनेटर कर्ड, बारुद र नेपाल कम्युनिष्ट पार्टीको विज्ञप्ति, पर्चा, पम्प्लेटसमेत बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
घाइते घिमिरेलाई उपचारका लागि सदरमुकामतर्फ लगिएको र अन्य फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।