काठमाडौँ - नेपाल राट्र बैंकले नेपालमा दर्ता नभएका र विदेशी ‘पे–मेन्ट सिस्टम’सँग आवद्ध भएका आर्थिक कारोबार गर्ने एप्स तथा कारोबार पद्धतिबाट कारोबार गर्न नपाउने नयाँ नियम ल्याएको छ। ग्राहकले अब नेपालमा ‘विच्याट पे’, ‘अलि पे’ जस्ता एप्सबाट भुक्तानी गर्न नपाउने भएका छन् ।
नेपालमा दर्ता नभएका यस्ता एप्समार्फत कारोबार बढ्दै जाँदा विदेशी विनिमय अपचलन भएको भन्दै राष्ट्र बैंकले त्यसमा रोक लगाएको हो । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी विच्याट पे, अलि पेजस्ता विदेशी एप्स जारी भएको भुक्तानी गेट वेमार्फतको कारोबारमा रोक लगाएको हो ।
‘यस्ता कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले यसरी कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ’, राष्ट्र बैंकको सूचनामा उल्लेख छ । विच्याट पे, अलि पे चिनियाँ एप हुन्। विशेषगरी नेपाल आएका चिनियाँ नागरिक र चीनसँग व्यापारिक सम्बन्ध बनाएका नेपालीले यस्ता एप्सको कारोबार गर्दै आएका छन्।