ओखलढुंगा - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्। रुम्जाटारबाट राजधानी फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन्।
केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिए। उनले भने, ‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ। समय केही लाग्ला तर सबै प्रकारका गरिबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ।’
मुलुकको विकासका लागि नेपाली–नेपालीबीच एकता हुनुपर्ने आवश्यकता औँल्याउँदै मुख्य मन्त्री राईले मुलुक समृद्धिको यात्रामा अघि बढिसकेकाले सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए। तीन दिनको यहाँको बसाइपछि राजधानी फर्किएका मुख्यमन्त्री राईले यसअघि रुम्जाटार बौद्ध गुम्बाको उद्घाटन, रुम्जाटार स्मार्ट सिटीको सम्भाव्यता अध्ययन, बेलायतमा रहेका नेपालीको सांस्कृतिक तथा सम्मानलगायत कार्यक्रममा सहभागी भएका थिए। (रासस)