लहान – विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ। उद्योगका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि सञ्चालन नगरेको र भाडावापतको रकमसमेत नतिरेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ती उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाएको हो।
सेड भाडामा लिएर वर्षाैंदेखि उद्योग सञ्चालन नगर्ने र भाडावापतको रकमसमेत नबुझाउने प्रवृत्ति बढेपछि कृष्णा खाद्य उद्योग, पदमा ज्योति प्लास्टिक उद्योग र टी एन्ड कफी सेन्टरको नाममा लिएको सेड खाली गराइएको छ भने महालक्ष्मी खाद्य उद्योग र एस एन्ड इलेक्ट्रोनिक्स उद्योगको सेड खाली गराउने प्रक्रिया अघि बढाएको औद्योगिक क्षेत्र व्यवस्थापना कार्यालयका प्रमुख दीपक आचार्यले जानकारी दिए।
खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रियासमेत शुरु गरिसकेको प्रमुख आचार्यले बताए। औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डस्ट्रिज र कोशी पोलिमर्स प्रालि सञ्चालनमा छन् भने कान्तिपुर प्लास्टिक इन्डस्ट्रिज र उषा जल उद्योग केही महीनाभित्रै सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।
यस्तै बन्द रहेको माँ भगवती कृषि सहकारी संस्था लिमिटेडको टमाटर प्रशोधन उद्योगले भाडावापतको बाँकी बक्यौता रकम बुझाएर सञ्चालन गर्न लागेको जनाएको छ। शान्तिसुरक्षा, खानेपानी, बिजुली लगायतको समस्या झेल्दै आएको औद्योगिक क्षेत्रमा उद्योग प्रवर्द्धन गर्नका लागि सरकारले पहिलोपटक यस वर्ष रु. ५ करोड बजेट विनियोजन गरेकाले ती समस्या समाधान हुने प्रमुख आचार्यको भनाइ छ।
कुल २ सय ९४ रोपनी (साढे २२ बिघा)मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधा सम्पन्न १० वटा घरेलु उद्योग सञ्चालन गर्नसक्ने क्षमता छ। (रासस)