काठमाडौँ – विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसदबाट पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन्।
रिपोर्टर्स क्लबद्वारा आज (शनिबार) यहाँ आयोजित साक्षात्कारमा नेताहरूले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक–२०७५ माथि अझै पनि विज्ञसँग छलफल गर्न सकिने र प्रतिनिधिसभा, राष्ट्रियसभा र समितिमा छलफल हुन बाँकी रहेको हुँदा हतारमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माले भने, “तपाईंहरू ढुक्क हुनुहोस्, संविधानको प्रस्तावनामै उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताविरुद्ध कुनै पनि प्रेससम्बन्धी कानून आउँदैन।”
नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले संविधानको प्रावधान, व्यवस्था र भावनाको प्रतिकूल हुने गरी सरकारले सञ्चारसम्बन्धी कानून र मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याएको भन्दै आपत्ति जनाए।
उनले पछिल्लो पटक भ्रष्टाचार मौलाउँदै गएकाले संलग्न जुनसुकै व्यक्ति वा जुनसुकै पार्टीको भए पनि छानबिन गरी कारवाही गर्न सरकारसमक्ष आग्रह गरे।
समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मर्यादित र शिष्ट हुन पत्रकार र पत्रकारिता क्षेत्रलाई अपिल गरे। आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको उल्लेख गर्दै उनले पत्रकारिताका नाममा कसैको मुखपत्र नहुनसमेत पत्रकारलाई आग्रह गरे। (रासस)