थाइल्याण्ड - एक गाउँमा एक कुकुर अहिले निकै चर्चामा छ। पिङ पोङ नाम गरेको त्यो कुकुरले जिउँदै गाडिएको बच्चाको उद्दार गरेपछि संसारभरी त्यो घटनाको चर्चा भएको हो।तीनवटा खुट्टा भएको त्यो कुकुरले किशोरावस्थाकी एक युवतीले जिउँदै गाडेको बच्चालाई उद्दार गरेपछि त्यो घटनाको संसारभर चर्चा भएको छ।
थाइल्याण्डको उत्तर पूर्वमा पर्ने एक गाउँमा पिङ पोङले जिउँदै गाडिएको बच्चाको उद्दार गरेको हो। गएको बुधबार कुकुरले थाइल्याण्डको राजधानी बैंककको उत्तर पूर्व पर्ने चाम पुवाङ जिल्लाको बान नङ खाम गाउँमा भुइँ खनेर किसानहरुको ध्यानाकर्षण गरेको थियो। कुकुरले भुइँ खनेर कराउन थालेपछि किसानहरु जम्मा भएका थिए।
नभन्दै कुकुरले खनेर बच्चाको खुट्टा देखायो र बच्चा कराएको आवाज आयो। त्यसपछि बच्चाको उद्दार सफल भयो। १५ वर्षकी एक किशोरीले (नाम खुलाइएको छैन) जिउँदो बच्चा गाडेको स्वीकार गरेकी छिन र उनलाई हत्याको प्रयास गरेको आरोपमा कारबाही अगाडि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ।
किशोरीले आफू गर्भवती भएको बुवाले थाहा पाउने डरले जिउँदो बच्चालाई गाडेको स्वीकार गरेकी छिन्। किशोरीको परिवारले बच्चाको हेरचाह गर्ने बताएका छन्। उद्दारपछि बच्चा स्वच्छ नै रहेको बताइएको छ। त्यहाँको प्रहरीका लेफ्टिनेन्ट कर्नेल पनुवात पुत्तकामले ‘किशोरी र उनको परिवारलाई मनोचिकित्सकको निगरानीमा राखिएको’ बताएका छन्। उनी त्रसित देखिएकाले परिवारसँगै उनलाई मनोचिकित्सको निगरानीमा राखिएको प्रहरीले जनाएको छ।
किशोरीले आफ्नो गल्ती स्वीकारेको र उनलाई हत्याको प्रयास गरेकोमा कारबाही गरिने त्यहाँको प्रहरीले जनाएको छ। बच्चाको उद्दार गर्ने ६ वर्षको तीन खुट्टे कुकुरका मालिक उस निसाइकाले सानैदेखि आफ्नो कुकुर बफादार भएको बताए।
‘मैले कुकुर भुकेको र बच्चा कराइरहेको सुनेँ र म त्यहाँ गएँ’, त्यहाँको सञ्चारमाध्यमलाई उदृत गर्दै द गार्जिएनले लेखेको छ, ‘कुकुरले माटो खोस्रीहरको थियो र बच्चाको खुट्टा देखापर्यो।’
उनले थप भने, ‘पिङ पङलाई कारले ठक्कर दिएका कारण ‘उ’ अपाङ्ग भयो। तर पनि मैले उसलाई राखिरहेँ किनकी उ इमान्दारी र बफादार थियो र म बस्तुभाउ चराउँन जाँदा जहिल्यै सहयोग गर्थो।’ एजेन्सी