काठमाडौँ – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन (मानवरहित विमान) कारवाहीमा परी कम्तीमा आठ आतंककारी मारिएकाे सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ।
खोग्यानी जिल्लामा संयुक्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारवाहीमा परी आठ इस्लामिक स्टेट्स (आइएस) आतंककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ।
मारिएका यी आइएस आतंककारीमा आबुजार नाम गरेका एक स्थानीय कमाण्डरसमेत मारिएका छन्। तर यस कारबाहीमा सर्वसाधारणलाई भने कुनै क्षति नभएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ।
अफगानिस्तानको राजधानी काबुलबाट १ सय २० किलोमिटर पूर्व रहेको यस पहाडी प्रान्त नान्गाहारमा बारम्बार आइएस आतंककारी समूह र सुरक्षा बलबीच झडप भईरहने गरेको छ।
हालका दिनहरुमा अफगान सुरक्षाबल र नेटोआवद्ध सुरक्षा अधिकारीहरुको संयुक्त सहभागीतामा अफगानिस्तान भरी हवाई कारवाही जारी रहेको छ। जारी विज्ञप्तिका अनुसार आतंककारी समूहले भने यस कारवाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। (रासस)