काठमाडौँ – द काठमाडौँ मल व्यापार संघले मलमा करोडौँको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरी घोटालामा संलग्नहरुलाई कारवाही नगरेकोमा गुनासो गरेको छ। संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो गुनासो पोखेको हो।
संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौँको आर्थिक घोटालाबारे आफूहरुले शुरुवातदेखि नै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारवाही नगरेको गुनासो गरिन्। महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाइन्।
उनले भनिन्, ‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो। तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन। म कहाँ–कहाँ जान्छु? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन्। अहिले पनि मेरो ज्यानमाथि असुरक्षा छ।’
त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन्। उनका अनुसार दर्जनौँ साथीहरु अहिलेपनि पीडामा छन्। उनले भनिन्, ‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन्।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन्।
उनले अघि थपिन्, ‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ। हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौँ ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ।
आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उनले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिन ज्यान मार्नेसम्मको खुलासा गरिन्। उनले भनिन्, ‘मैले बोलेपनि÷नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन्। तर, म नबोलेर मर्नुभन्दापनि बोलेर मर्न चाहन्छु। सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलन पनि हुनसक्छ।’
कार्यक्रममा संघका सल्लाहकार उज्वलजंग शाहले पनि मलमा भएको विसंगतिका बारेमा बोल्दा उल्टै आफूहरुलाई भौतिक रुपमै आक्रमण भएकोमा दुःखेसो पोखे। आफूहरुले घोटालाबारे प्रमाणसहित सत्य कुरा बाहिर ल्याउँदा पनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको पनि उनले गम्भिर आरोप लगाए।
उनले आफूहरुमाथि भौतिक आक्रमण भएको आज महिना दिन बित्न लाग्दापनि अहिलेसम्म सरकारले आक्रमणमा संलग्न व्यक्तिहरुलाई कुनै कारबाही नगरेकोमा आपत्ति जनाए। उनले भने, ‘हामीमाथि आक्रमण गर्नेहरु अहिलेपनि खुलेआम हिँडिरहेका छन्। तिनीहरुले अहिलेपनि हामीलाई फोनबाट ज्यान मार्ने धम्की दिईरहेका छन्। हाम्रो ज्यान असुरक्षित छ।’