काठमाडौँ - पार्टी एकीकरणको अन्तिम चरणमा पुगेको बताइरहेको सत्तारुढ नेकपाका शीर्ष नेताहरूबीच वाकयुद्ध शुरु भएको छ। नेकपाभित्र पुन: वैचारिक ध्रविकरणको संकेत देखिएको छ।
बुधबार युवा संघ नेपालको २९ औँ बार्षिक उत्सवमा कार्यकर्ताले बुझ्नेगरी वैचारिक ध्रविकरण पोखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र सचिवालय सदस्य ईश्वर पोखरेलबीच एकै मञ्चबाट घोचपेचमा उत्रिएका हुन्।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको माओवाद स्थगित गरी जनताको जनवाद मान्ने भनिएको थियो।
युवा संघको स्थापना दिवसका अवसरमा प्रचण्ड भन्दा पहिले बोल्ने पालो पाएका ईश्वर पोखरेलले स्पष्ट वैचारिक कार्यदिशा नभएको कम्युनिस्ट पार्टी तासको महल जस्तै ढल्ने चेतावनी दिए।
पार्टी एकीकरणदेखि नै तत्कालिन एमालेले बोक्दै आएको जनताको बहुदलीय जनवाद नै नेकपाको मार्गदर्शक सिद्धान्त हुनुपर्ने बताउँदै आएका पोखरेलले यसबीचमा बिभिन्न ठाउँमा यहि धारणा राख्दै आएका छन्।
पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिँदै आएका पोखरेलले बुधबार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र विष्णु पौडेललगायतका नेताहरुका सामुन्ने बैचारिक बहसको थालनी हुनुपर्ने धारणा राखेपछि कार्यकर्ता पंक्तिमा नयाँ वहस उत्पन्न भएको छ।
पोखरेल लगत्तै बोलेका झलनाथ खनाल र माधव नेपालले विचार तथा सिद्धान्तबारे बहस गर्न चाहेनन् तर, प्रचण्डले पोखरेलमाथि कटाक्ष गरे। प्रचण्ड बोल्ने क्रममा केही आक्रोशित रुपमा प्रस्तुत हुँदै पूराना विचार दोहोर्याएर कम्युनिस्ट पार्टी नबन्ने बताए।
उनले गीता, बाइबल र कुरान जस्तो धर्मशास्त्र मार्क्स नभएको भन्दै विचार सिद्धान्तमा निरन्तर प्रयोग र विकास हुँदै जाने भएकाले छाडिसकेका विचार सिद्धान्तप्रति मोह त्याग्न सुझाव दिए।
पोखरेलतर्फ इंगित गर्दै उनले भने, ‘सही विचार सधैंका लागि केही पनि हुँदैन। निरन्तर वहस र अन्तरक्रियाबाट नयाँ विचार बन्छ। एउटै विचार सही छ भनेको भए यहाँ आइपुग्ने थिएनौं। कि युद्धमा जित्थ्यौं वा मरेर सिद्धिन्थ्यिौं। शान्ति भन्नेहरू पनि शान्तिमै सिद्धिन्थ्यौं। आज प्रधानमन्त्री मन्त्री बनेर समृद्ध नेपाल सुखी नेपालीको सपना बाँड्ने ठाउँमा आउने थिएनौं।’
प्रचण्डले विचारको शुद्धताको नाममा जनता र राष्ट्रको आवश्यकतालाई नजरअन्दाज गर्ने र वैचारिक शुद्धताका नाममा पार्टीलाई विभाजनतर्फ लैजाने जड प्रवृत्ति भोग्दै आएको बताए। उनले कुनै पनि विचार सधैंको लागि सही हुन नसक्ने भन्दै अप्रत्यक्ष रुपमा पूर्व एमाले पंक्तिलाई जनताको बहुदलीय जनवादको मोह त्याग्न आग्रह गरे।