काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले युवाहरूको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेर मात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । तत्कालीन एमालेको युवा संगठन युवासंघ नेपालको २९औँ स्थापना दिवसको अवसरमा प्रमुख अतिथि बनेर पुगेका प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् ।
उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्ने बताउँदै जनवर्गीय संगठनको एकीकरण जेठ ३ मै सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताए ।
तीन नेतालाई प्रधानमन्त्री बनाएको दाबी
सो अवसरमा अध्यक्ष प्रचण्डले तत्कालीन एमालेका तीन नेताहरूलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रहसमेत गरे । उनले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई लाइन लाएर प्रधानमन्त्री बनाएको दाबीसमेत गरे ।
प्रचण्डले भने, ‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदाहुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।’
केपी ओलीलाई ‘संविधान बनाऊँ, तपाई प्रधानमन्त्री’ भनेको हुँ । यो पटक पनि चुनावअघि नै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरूले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ?’