काठमाडौँ – एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र भारतीय क्लब मिनर्भाबीच बुधबार बराबरीमा रोकिएको छ। दुई खेल हारेको मनाङले त्यसयता लगातार दोस्रो बराबरी खेलेको हो।
मिनर्भाले ३९ औँ मिनेटमा लिएको अग्रता मनाङले दोस्रो हाफमा खेल बराबरीमा ल्याएको थियो। सुरुका पहिलो हाफमै मिनर्भा १० खेलाडीमा सिमित भएपनि त्यसको फाइदा मनाङले लिन सकेन।
योसँगै मनाङको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ। चार खेलबाट दुई अंक भएको मनाङ समूहको चौथो तथा अन्तिम स्थानमा छ।
समूहमा भारतको चेन्नईन तीन खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा, बंगलादेशको अबहानी लिमिटेड तीन खेलबाट चार अंक जोड्दै दोस्रो स्थानमा र चार अंक भएको मिनर्भा तेस्रोमा छ।
समूहको विजेता मात्र अगाडि बढ्ने भएकाले मनाङको सम्भावना लगभग समाप्त भएको हो। समूहका खेलहरु होम एन्ड अवे प्रणालीमा सन्चालन भइरहेका छन्।