कम्बोडिया – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कम्बोडियाली राजदरबारको उत्तरी भागमा अवस्थित राष्ट्रिय सङ्ग्रहालय अवलोकन गरेका छन्। प्रधानमन्त्री ओली सोमबारदेखि कम्बोडियाको औपचारिक भ्रमणमा रहेका छन्।
यहाँको राष्ट्रिय सङ्ग्रहालयमा १९१७ देखि १९२० सम्म माटाबाट बनाइएका परम्परागत संरचना राखिएका छन्। यो सङ्ग्रहालय खमेर वास्तुकलाका सबैभन्दा राम्रो सङ्कलनका रुपमा रहेको बताइएको छ। यहाँ एङ्करबाट नजिकै पश्चिमी मेबन मन्दिरमा सन् १९३६ मा उत्खनन गर्दा प्राप्त भएको विष्णुको काश्यमूर्ति पनि राखिएको छ।
यहाँका मूर्तिमा पाँचौँदेखि आठौँ शताब्दीसम्मका भारतीय मूर्तिकला तथा त्यसको खमेर वास्तुकलामा सङ्क्रमण देख्न सकिन्छ। यहाँ छैटौँ शताब्दीमा बनेको तथा नोम दामा प्राप्त आठ हातयुक्त हरिहरको मूर्ति पनि राखिएको छ।
यहाँ एङ्कोरबाटमा प्राप्त शिवका नवौँदेखि तेह्रौँ शताब्दीमा बनेका मूर्ति तथा चौथोदेखि चौँधौँ शताब्दीमा बनेका भाँडाकुँडा पनि राखिएका छन्। यहाँ कपडाका ऐतिहासिक वस्तु छन्। यहाँ राखिएको हातले बुनेको एक पछ्यौरा एक किलोमिटरभन्दा लामो छ जसलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस प्रमाणपत्र दिएको छ।
प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत पनि थिए।(रासस)