काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा काठमाडौँमा ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उनले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताए। उनले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राखे।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिन पिङसँग कुरा हुँदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दे भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो,’ उनले भने, ‘दुवै नेताले ‘नेपाल देश सानो नभएको र नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो छ भनेका थिए।’
यस्तै उनले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताए। नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उनको भनाइ थियो।
प्रचण्डले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राखे। मिथिला र मिथिला सभ्यता आफैमा नेपालको मात्र नभइ विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्दै उनले मिथिला सभ्यताबाट मानिसले ज्ञान र विज्ञान सिक्ने सिकाउने भए पनि अहिले मिथिला यहाँबाट अयन्त्र सरेको बताए।
अध्यक्ष प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्नेमा आफू रहेको उल्लेख गरे।
रामजस्तै सीताको जयन्ती मनाउनुपर्ने
अध्यक्ष दाहालले सीतालाई आर्दश नारीको रुपमा चिनिएकोले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्ने बताए। ‘रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ। त्यो पितृसत्तावादी सोचको अभावले भएको हो,’ उनले थपे, ‘रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहुदैन। महिला हुनुको नाताले सीतालाई बढी चर्चा, सम्मान हुनुपर्दछ। सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ।’
अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडौँ हुँदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हुँदै गइरहेको बताए। उनले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताए। अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गर्ने समेत बताए। (रासस)